[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 --कथा चौतारीको--

[Please view other pages to see the rest of the postings. Total posts: 443]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
[VIEWED 315826 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 23 pages, View Last 20 replies.
Posted on 06-18-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी धागोमा धेरै जनाको धेरै कुरा हुँदा सबैको केहि न केहि गाउँले नाम रहन गयो। यस्तै पात्रहरु राखेर एउटा गाउँ बुनेको, त्यहि उता टाँसेको गाउँ अब यता सारेर बाँकि यतै बुन्ने बिचार गरेर राख्दैछु, जे पर्ला पर्ला!

 

(यस कथा श्रृङ्खलामा प्रस्तुत गरिएका नामहरु जे जसरी चौतारी धागोमा प्रस्तुत गरिन्थे/गरिन्छन त्यसैगरि प्रस्तुत गरिएका छन् र पूर्णतया: मनोरंजनात्मक उद्देश्यले प्रस्तुत गरिएको हो। नाम, स्थान र कृयाकलाप तथा संवाद पूर्णतया: काल्पनिक नै हुन र कसैको व्यक्तिगत नाम संग मिल्न गएमा संयोग मात्र हुनेछ। साथै कुनै पनि पाठकलाई आफूले साझामा प्रयोग गर्ने 'निकनेम' वा चौतारीमा बोलाइने 'गाउँले नाम' यहाँ कथा बनाएर प्रस्तुत गरेकोमा  कुनै पनि किसिमको आपत्ति भएमा भन्नुहुन अनुरोध गरिन्छ र आपत्ति भएमा नाम हटाउन सकिन्छ।)

 

बिस्टे बुढाले घुम बिस्तारै टाउकोबाट झिके र पानी तर्काए, पिँढिमा भित्ता पट्टि घुम ठड्याएर राख्दै थ्याच्च फलैँचामा बसे र सुरुवाल फुकाले! सुरुवाल पानीले निथ्रुक्क भिजेको  थियो त्यसलाई निचोरेर पानी फाले पिँढिमै। एक पटक हाई गरेर आङ तन्काए र फलैँचामाथि नै भित्तामा अडेस लागेर बसे।

 

सान्नानीssss, ए सान्नानी!

नातिनी भित्र भान्सामा केहि गर्दै थिन क्या रे बुढाले बोलाएको सुनिनन्।

पानी अझै दर्किराखेको थियो, जस्ताको छाना भएकोले होला माथि परेको पानीको आवाज र बलेसीबाट चुहिएको मोटो पानीको धारोले गर्दा बोलेको सुन्न पनि मुश्किल पर्थ्यो।

ए सान्नानि!!

बुढा यसपाली अलि चर्को स्वरमा कराए।

ए हजुरवा आउनुभो?

भित्रबाट सान्नानीको मसिनो आवाज आयो।

त्याँ चोटामा मेरो सुरुवाल होला लेर आइज त झट्टै! सपै निथ्रुक्कै भिजायो फेर्नु परो!

बुढाले पर डाँडातिर हेर्न थाले! बादलले डाँडाको माथिल्लो भाग पुरै छोपेको थियो, र ठाउँ ठाउँमा खोल्सो परेको ठाउँमा सेताम्मे कुहिरो लागेको थियो। बर्खा बेला भएकोले होला अगिपछिको सुख्खा डाँडा पनि हरियो देखिन्थ्यो। घर तलको पाटोमा मकै केहि पाकेर झाङ्गिसकेका थिए र केहि पोटिलै थिए। त्यसमा पानी पर्दा झन आकाशै खसेको जस्तो आवाज आइराखेको थियो। बाहिर कतै भ्यागुताहरु कराइरहेका थिए। सबै वातावरण नै बर्खाले भिजेको जस्तो थियो।

बुढाले पुलुक्क ढोकातिर हेरे।

अझै एक बर्खा त कसो नधान्ला

ढोकाको मक्किएको खापा र चुहिँदै गरेको बलेसी हेर्दै बुढाले मनमनै भने।

यि लिनुस हजुरबा सुरुवाल

बुढाले ढोकातिर हेर्दा हेर्दै सान्नानी सुरुवाल लिएर बाहिर आइन्।

बुढाले सुरुवाल लिए, एक पटक सान्नानीलाई मायाले हेरे, र भने-

एक घान मकै भुट् त बा, साह्रै भोक लायो!

आगो सल्का छैन, मइतेल नि सकिया छ! सान्नानीले टुलुटुलु हजुरबाको अनुहार हेर्दै भनिन्।

बुढाले केहि नबोलि एकपटक लामो सुस्केरा हाले र बाहिर हेरे।

पानी रोकिने नामोनिशान थिएन!

हेरि यो घुम ओडेर जा त माथ्ला घरमा, मइतेल छ कि भए मागेर लेरा न एक चौथाई जति?

सान्नानी केहि बोलिनन् केवल खुट्टाको बुढि औँलाले पिँढि कोपर्दै भुइँतिर हेर्न थालिन्।

के भो तँलाई? माथ्ला गरमा गर मइतेल पैँचो मागेर लेरा न भन्या, माष्टरनीले त जर्किन नै भरेर राख्छिन् अइपछि।

आज नि बिर्सनुभो हजुरबाले!

सान्नानीले भुइँतिरै हेरेर बिस्तारै भनिन्।

बुढाले केहि सम्झे जस्तो गरेर सान्नानि तिर हेरे र हात बढाउँदै इशाराले बोलाए।

सान्नानी हजुरबा तिर आइन्। बुढाले काम्दै गरेको हात सान्नानीको टाउकामा राखे र भने-

हेर् बा आज ब्यान सम्झिरा थेँ, बारिको काम सिद्धयार पारि जाम्ला भन्या तेत्बेला भुसुक्कै भइछु, पछि खोलो बडेर तर्नै नसक्नि भयो, क्यार्नु! पख् पानी पर्न कसो नरोक्केला आजा रात, भोलि खोलो नि सानो हुन्छ अनि किलिप मात्रै हइन एउटा धागो नि ल्याइदिम्ला तँलाई!

जइले नि तेस्तै भन्नुहुन्छ अनि तेस्सै आउनुहुन्छ! सान्नानिले रुन्चे स्वरमा भनिन्।

खोलो थामिएसि ल्याइदिन्छु पक्का पक्कि कुरो!

सान्नानीको अनुहारमा पत्यारका रेखाहरु आए। भित्र छिरिन्, एउटा जर्किन लिएर बाहिर आइन्। जर्किन शायद सेतो रंगको थियो तर त्यसमा देखिने कालो रंगले जर्किनको लामो इतिहास बयान गर्दथ्यो। घुम टाउकामा ओढ्दै सान्नानीले जर्किन हातले च्यापिन र बाहिर गइन्।

पानी दर्कि रहेको थियो र बुढा नातिनी हिँडेकी हेर्दै थिए।

कैले साउले देला जस्तो छैन!

मनमनै बोल्दै फेरि एक पटक लामो सुस्केरा हाले बुढाले, र गोठ तिर हेरे।

भैँसि बसेको थियो र उग्राइराखेको थियो। शायद झरिको यो वातावरणमा भैँसि आनन्दित थियो।

यो थारोलाई पन्छाउन पाए नि दुइ चार पैसो आउँथ्यो कि?

बुढाले मनमनै आफैँलाई प्रश्न गरे र सुरुवाल लगाउन थाले।

बरु बिर्खे सम्धी संग पो माग्ने कि? फेरि आफैँलाई प्रश्न गरे र आफैँमा केहि आश्वस्त्व भए।

ह्याsss जे पर्ला पर्ला, भोलि जान्छु सम्धीकाँ, जे भ नि छोरिको घर हो ए!, पर्या बेलाँ कसो केइ नगर्लान र!

बुढा मनमनै बोल्दै थिए र आश्वस्त्व पनि हुँदै थिए।

पानी रोकिने लक्षण थिएन।

पर बाट सान्नानी लगभग दौडँदै आउँदै गरेकि देखे बुढाले। सान्नानीको हातमा हल्लिएको जर्किन देख्नासाथ बुढाले बुझे र मनमनै बोले माष्टर्निले मइतेल दिइनन्!

प्वss! प्वss! प्वss!”

गोरु बारिमा पस्न लागेको देखेर निथ्रुक्क भिज्दै हर्केले गोरुलाई बाटो लगाउन खोज्दै थियो।

लौरोले गोरुलाइ पिट्दै हर्के फेरि करायो-

होss तिल्के! बाटोतिर जा भन्या डाम्नु!

गोरु अटेरी थियो, बाङ्गो बाङ्गो पर्दै बारिमै छिर्यो। हर्के दौडेर गोरु भन्दा अगाडि पुग्यो र गोरुलाई फर्काउने कोशिस गर्न थाल्यो। गोरु कहिले बाटोतिर जाउँला जस्तो गर्थ्यो कहिले फेरि बारिमै फर्कन्थ्यो। केहि बेर यो क्रम जारी रहँदा निकै मकैका बोटहरु मासिए। पानी परेको परेइ थियो, हर्केको सम्पूर्ण शरीर भिजेको थियो।

हर्केको आँखाले बल्ल बारि नियाल्न थाल्यो।

बिस्टे बुढाको बारिमा पो पसेछ डाम्नु!

हर्केले मनमनै भन्यो र यताउता हेर्यो। माष्टरनी नानीको घरबाट सान्नानी जर्किन बोकेर तल झर्दै थिइन्। हर्केले खल्तिबाट सुर्तिको गुजुमुजु भएको पाउच निकाल्यो र चिसो हातमा भिजेको सुर्ति हालेर एक पटक सुँघ्यो र मुख मा हाल्यो। एक टकले सान्नानी माष्टरनी नानीको घरबाट आफ्नो घर तिर जाँदै गरेको हेरिराखेको थियो। सान्नानी अलि नजिक आएपछि हर्के करायो-

प्वss! प्वss! प्वss! होss तिल्के!

हर्के कराएको सुनेर गोरुले कान ठाडो पार्यो र फेरि यता उता दौडिन थाल्यो। सान्नानीले पुलुक्क हर्केलाई हेरिन् र अलि दौडेको जसरि घर तिर लागिन्।

गोरु बारिमा स्वच्छन्द बिचरण गर्दै थियो। हर्केले गोरु तिर हेर्यो र गोरुलाई बाटोतिर धपाउन खोज्यो! गोरु फेरि उल्टो घुम्यो। हर्के अगाडिपट्टि आयो र गोरुलाई चुट्न थाल्यो। एक फन्का मारेर गोरु बाटोतिर लाग्यो। हर्के पछिपछि गयो र बाटोमा पुग्यो। जाने बेलामा हर्केले फेरि यताउता हेर्यो, माथि घरको आँगनबाट बिस्टे बुढा पानीमा भिज्दै बारितिर हेर्दै थिए!

---

 

 

Last edited: 24-Jun-08 08:30 PM

 
Posted on 06-18-08 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रात पर्ने बेला त भएको थिएन तर झरिले गर्दा झमक्कै भैसकेको थियो। भउते पलंगमा बसेर केहि लेख्दै थियो शायद गजल वा कविता। मैनटोलको प्रकाशले कोठा झलमल्ल थियो। आज बिहानै देखि झरि परेकोले एक त भउतेको मन कता कता उडेको जस्तो भैराखेको थियो अर्को, अगि सम्म धोबिनीकहाँ गएर अलिकता चढाएको रक्सीको हल्का मात पनि बाँकि थियो। गजल नै लेख्ने किसिमको मात चाहिँ धोबिनीकि बहिनी जुरेलीले गिलाँसमा पटक पटक रक्सी भरिदिँदा लागेको थियो।

  भउते बाबुsss!

भाउजुको स्वरले भउते लेख्दा लेख्दै अड्कियो। एक पटक मुख नमिठो बनायो र बोल्यो-

हउर भाउजु!

माष्टरनी  तलबाट नै बोलिन-

खाना पस्कौँ कि भन्छु र!

सितन बिनाको रक्सि खाएको भउतेलाई खाना शब्द र तल पाकेको खानेकुराको गन्धले भोकको तिव्र आभाष भयो।

हुन्छ भाउजु पस्कनोस के रे, म ओर्लिएँ

लेख्दै गरेको कापि बन्द गर्यो, एक पटक जुरेली मस्केकी सम्झेर मुस्कुरायो र तल झर्यो।

चुल्होमा माष्टरनी भात पस्कँदै थिइन्। भउते पुजा चौकितिर लाग्यो धोती समात्यो र फेरि माथि उक्लियो। धोति फेरेर तल  झर्यो र चुल्होमा भाउजु भन्दा पर बस्यो;शायद रक्सीको गन्ध भाउजुले थाहा नपाऊन भन्नाका लागि।

कत्तिको भोक लाया छ र?

माष्टरनीले पुलुक्क देवरलाई हेर्दै सोधिन्।

एउटा उपद्रो भोक लाग्या छ भाउजु, आज त भातको पइरो नै लडाम्ने हुम् मुन्टो बङ्ग्याएर मुस्कुराउँदै जवाफ दियो।

माष्टरनीले खाना अगाडि सारिदिइन्। भउतेले थाल तान्यो र औसनी हाल्दै सोध्यो-

साँच्चि अगि म आम्दा हाम्रि भान्जि यताटि हिन्या देख्या थेँ क्यार्न आइकि रेछिन?

मट्टितेल माग्न नि अरु के हुन्थ्यो र

माष्टरनीले घ्यूको कचौरा भउतेतिर सारिदिँदै बोलिन्।

भउतेले केहि सोचेको जस्तो गर्यो र सोध्यो-

अनि कति लइन् त मट्टितेल?

छैन भन्दिएँ मैले, अस्तिन देखिको लग्या पैँचो कइलेइ तिर्ने हैनन् कति दिनु!

माष्टरनि भावबिहिन भएर बोलिन्।

भउते चुप लाग्यो केहि बोलेन। चुपचाप निहुरिएर भात खान थाल्यो। माष्टरनी देवरलाई हेर्दै थिइन र केहि बोल्न खोज्दै थिइन्।

बाबु!

माष्टरनीले स्तब्धता भङ्ग गरिन्।

भउतेले केहि नबोलि पुलुक्क माष्टरनी तिर हेर्यो।

एक चोटि हिँड्नुस न बाबु मैले अस्ति भन्या ठाममा, जाँदैमा के बिग्रिहाल्छ र?

कुन ठाममा भन्नुभो भाउजु? भउतेले बुझेर पनि नबुझे जसरि सोध्यो र मुखमा गाँस हाल्यो।

त्यहि मेरो माइलाबाउकाँ, साह्रै उत्तम छे बाबु मेरि माइलाबाउकि कान्छि छोरि! तपाइँ हेर्नोस मात्रै, चित्त नबुझे नगर्ने त छँदैछ नि!

भउतेले अचानक जुरेली सम्झियो, एक पलको लागि टोलायो र बोल्यो-

जानै हुँदैन भन्या त कहाँ हो रा भाउजु मैले पनि, तै पनि बे गर्ने सुरमा नभा मुन्छे म क्यार्न हेर्नु अर्काकि छोरि भनेर नि!

केहि हुँदैन बाबु, भाउजुको माइति जाने नि भेटघाट गर्न भनेर भाउजुसित के भयो र?

हुन्छ जाम्ला त नि उसोभए भउतेले कुरा सकाउने प्रयासमा भन्यो र छिटो छिटो खाना खान थाल्यो।

माष्टरनीको मुहारमा खुसिको लहर देखा पर्यो।

बाबु खाना खाँदै गर्नुस म बाख्रा सारेर आम्छु यति भन्दै माष्टरनी उठेर बाहिर लागिन्।

भउते चुपचाप खाना खान थाल्यो र अन्तिममा एक अम्खोरा पानी सिनित्त पार्यो, घ्यूको कचौरा छुँदै छोएन।

खाना खाएर माथि उक्लियो, कोठामा गयो र धोति नफुकाली त्यत्तिकै लेख्न बस्यो।

बाहिर झरि परिरहेकै थियो, भ्यागुताहरु कराएको आवाज दिउँसो भन्दा बढि थियो। निकै बेर केहि लेख्दै बितायो। लेख्दा लेख्दै कुन्नि के सम्झियो र जुरुक्क उठ्यो। घडि हेर्यो, रातिको ९ बजेको थियो। झ्याल खोल्यो। पानीको बाछ्छिटाले अगाडिको भाग सबै भिजायो। तलतिर हेर्यो, बिस्टे बुढाको घर अन्धकारमा डुबेको थियो! उसले भान्जिले भउते मामा भन्दै पछ्छ्याएको सम्झियो।

झ्याल लगायो र पाइन्ट लगायो अनि बिस्तारै तल ओर्लियो। भाउजुको कोठाको बत्ति निभिसकेको थियो।

कता राखिछिन् कुन्नि?

मनमनै बोल्दै भान्साको टुकि बालेर यताउता हेर्न थाल्यो।

मट्टितेलको जर्किन कुनापट्टि थियो र चामलको बोरा अलि पर थियो। फेरि माथि गयो र एउटा पुरानो कछाड लिएर आयो। बोराबाट केहि चामल कछाडमा पोको पार्यो, मट्टितेलको जर्किन समात्यो र ढोका खोलेर पानीमै बाहिरियो र ढोका ढप्क्यायो! पानि मुसलधार पर्दै थियो! भ्यागुताहरु कराएको आवाज बाहिर बढि थियो!

 

---


 
Posted on 06-18-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तिम गिलाँस सिनित्त पारेर पुन्टे बुडाले एक पटक कागती निचोरेको जस्तो अनुहार बनाए र स्वाट्ट मुख पुछे। अगि भर्खर सितन खाँदा हातमा लागेको मसलाको मानौ उनलाई कुनै मतलब छैन। मसलाले बुढाको ओठ र च्यापु पँहेलो बनायो। एक पटक जिउ तन्काए र पुलुक्क धोबिनीलाई हेर्दै ओठमा हल्का छिल्लिएको हाँसो ल्याउँदै भने-

झरि त दर्केको दर्केइ छ के रे, फेरि निसप्ट्ट अँध्यारो छ घर क्यारि पुग्ने होला?

धोबिनीले सितनको थाल र गिलाँस टिप्दै बोलिन्-

घरमा बुढी दैलो कुर्दै होलिन बुढा जसरि भ नि जान पर्ला नि!

गाम थर्काऊने गरेर घुर्दै होलि मारानि, के को दैलो कुर्नु

बुढाले नमिठो मुख बनाएर रुखो स्वरमा भने र बसेको गुन्द्रिमा लम्पसार परे। धोबिनीले बुढालाई हेर्दै मुखमा फेरि मन्द हाँसो ल्याइन र भनिन्-

हइन भन्न मन ला कुरो प्याच्चै भन्न नि सक्दैनौ बुडा तिमी? याइँ सुत्न मन लायो भनन आजा रात!

पुन्टे बुडा तालु कन्याउँदै धोबिनितिर हेरेर हाँसे। गुन्द्रिबाट परालको त्यान्द्रो उखेलेर निकाले र त्यसले दाँत कोट्ट्याउँदै बोले-

क्यार्नु अइ दिउँसो, म आम्नु र भउते बजिया जानु संगसंगै भयो, आजा रात घर पुइएन भने त बित्याँस पर्छ!

यस्ता डरछेरुवालाई किन नानाभाँति मन लाया हो फेरि?

धोबिनीले पुन्टे बुडालाई कटाक्ष गरिन्।

हेर् साइँली यो ज्यानलाई डर भन्या लाग्दैन, क्यार्नु; गामसमाजले गर्दा मात्रै हो, अलिब्यार पर्खि के रे, तँलाई याँबाट उछिट्ट्यार बटौलीमा रानि बनार राखिन भने मेरो नाउँ पुन्टे हैन!

पुन्टे बुडालाई शायद धोबिनीले डरछेरुवा भनेकोले आफ्नो पौरुषत्वमा प्रहार भएको महसुश भयो।

नचिन्या बराजु हैनउ बुडा तिमी, यस्ता बात मार्न थाल्या नि दुइ बर्ख भयो, तिम्लाई मेरो मया पटक्कै छइन्, मया हुनेले त मया देखाम्छन केकेजाति कोशेली ल्यादिन्छन्, स्वास्निसित खटपट भ बेलाँ म चाइएर आम्ने मात्रै हौ तिमी! धोबिनिले रक्सिको जर्किनमा खोया लगाउँदै भनिन्।

हेर् साइँली तेस्तो होइन, कुरा बुज न लाटी, अलिब्यार पर्खि अनि था पाउलिस मलाई तेरो मया कति लाग्छ भन्नि! पुन्टे बुडा गुन्द्रि बाट उठ्दै धोबिनितिर आउँदै बोले।

यता आउन पर्दैन बुडा, घरमा स्वास्निसित जाऊ!

धोबिनी अलि पर सर्दै बोलिन्।

पुन्टे बुडाले धोबिनीको हात समाते।

खुरुक्क घर गइहाल बुडा, अइले जुरेली उठ्छे फेरि!

धोबिनीले बुढाको हात पन्छाउँदै भनिन्।

तेल्लाई सपै था छ क्यार्न डराम्ने हो? तरुनि भइ है तेरि बइनि? पुन्टे बुडाको मुखमा फेरि छिल्लिएको हाँसो आयो।

अचानक धोबिनीको अनुहारमा रिसका रेखाहरु देखिन थाले।

मेरी एउटि भा कलीली बैनिलाई आँखा लायौ भने बुडा, तिम्रा खलकभरि तिम्रो नाक काटिन भने म सन्ते धोबीको छोरि हईन!

धोबिनीको रिस भरिएको वाक्य सुनेर बुढा केहि सभ्य भए!

धोबिनि गुन्द्रिमा बसिन् र फेरि बोल्न थालिन्-

मलाई त भउते बाउ मन पर्छ, कुबेला नि आउँदैनन्, आए नि जुरेलीलाई कोसेलि ल्याइदिन्छन्, सारै मया मान्छन जुरेलीको!

त्यो बजिया बच्चो छ अझै पुन्टे बुढा पनि गुन्द्रिमा धोबिनी संगै बस्दै बोले।

जुरेली पनि बच्चै छे नि, भउते बाउ बे गर्छु भन्छन जुरेलीसित ज जल्ले जे भने नि बे गर्नि रे, आफ्नो बनार राख्ने मर्दको चाला नै अर्कै हुन्छ, सपै तिमी जस्तो असत्ति काँ हुन्छन? हात नचाउँदै बोलिन् धोबिनी।

पुन्टे बुढा धोबिनीलाई हेर्दै बोलेको सुन्दै थिए। बाहिर झरि परेको एकनासको आवाज आइरहेको थियो। बुढालाई अहिले घर जानु नै ठिक लाग्न थाल्यो। भउतेसित जुरेली मस्कने यथार्थ संग पुन्टे बुढा अपरिचित थिएनन् र भउतेको मनमा जुरेली प्रति अंकुराएको प्रणयभाव पनि बुढा राम्रो सित बुझ्दथे।

लौ त साइँली, म लाएँ अब घरतिर, मारानीले आउलो नला भ भित्र जान पाइँछ ला भ पिँडिको बास हुन्छ यो झरिमा!

यति भन्दै बुढा उठे र धोबिनीतिर हेरे। धोबिनीको मुहारमा हल्का रिस र हल्का उदासी प्रस्ट देखिन्थ्यो। धोबिनीले बुढातिर हेरिनन्। बुढा ढोकासंगै रहेको माथि कोठामा जाने भर्याङनिर पुगे। माथिबाट कोहि लोग्ने मान्छे बोलेको जस्तो निकै मधुरो र अष्पश्ट आवाज आइरहेको थियो। बुढा एकछिन टक्क अडिए। बुढा अडिएको देखेर धोबिनीको अनुहारमा उत्सुकताको भाव आयो। बुढाले इशाराले धोबिनीलाई बोलाए। धोबिनि बुढा भएतिर आइन्। बुढाले साउति मार्ने पाराले माथि कोहि  बोलेको संकेत दिए, धोबिनीको कान ठाडो भयो।

भउते बजिया नि नपत्याउँदो रेछ

बुढाले मनमनै भने र धोबिनीलाई चुप लाग्ने इशारा गर्दै बिनाआवाज भर्याङ चढ्न थाले, धोबिनि पनि बेआवाज पछि पछि भर्याङ चढ्न थालिन्।

माथि कोठा अगाडि पुगेर दुबैजना टक्क अडिए।

कोठा भित्र जुरेली र कुनै लोग्नेमान्छे बोलेको त्यति स्पस्ट थिएन। धोबिनीको अनुहारमा आत्तिएको भाव प्रष्ट देखिन्थ्यो।

बुढाले इशारा गरे, धोबिनिले आवाज लगाइन-

जुरेलीsss ओइ जुरेलीsss सुतेकि छैनस??

भित्रबाट गुनगुनको आवाज बन्द भयो!

ढोका खोल त झट्टै?

अलि कर्कश आवाजमा धोबिनी बोलिन्।

भित्र खड्याकखुडुकको आवाज आयो र एकछिनमा केहि नबोली जुरेलीले ढोका खोलिन्। बुढा र धोबिनी हतारिँदै भित्र पसे। झ्याल ह्वाङ्ग खुल्ला थियो जसले गर्दा बाहिर मकैबारिमा परेको पानीको आवाज भयङ्कर सुनिनथ्यो। धोबिनीले शंकाको दृष्टीले जुरेलीलाई हेर्न थालिन्; बुढा लगभग दौडेर झ्यालतिर गए।

बाहिर झरि परेको र अन्धकार भए पनि मकैबारि तिर हतारिएर दौडँदै छिरेको पर्वतेलाई बुढाले प्रष्ट संग चिने!!

 

----


 
Posted on 06-18-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-18-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो निर्णय जिम्माल बा।
 
Posted on 06-18-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बोर फस
 
Posted on 06-18-08 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कुन्नि के भयो सपनामा हो कि बिपनामा, बिस्टे बुढा झस्केर बिउँझिए!झरि अनवरत रुपमा परि नै रहेको थियो।वरिपरि,चुक घोप्ट्याएको जस्तो अन्धकार थियो।

 

गरिबीको पराकाष्टामा पुगेर रिन तिर्न त परै जावस छाक समेत टुट्न थालेपछि अत्यन्तै दुखि भएका बुढा,सानि नातिनिलाई एक छाक तातो सम्म खुवाउन नसकेकोले मर्माहत नै भएका थिए। आँखा अगाडि गोरुले आफ्नो भएका केहि मकैका बोट पनि सबै फाँडिदिएकोले बुढालाई रिस र पिडा संगसंगै परेको थियो, तर सराप्दै गोरु धपाउन अघि बढ्दा हर्केलाई देखेपछि बुढा दुबै पिउन बाध्य भएका थिए!भोकि नातिनीलाई फकाइफुलाई पारेर बल्ल बल्ल सुताएपछि बुढा एकछिन यत्तिकै ढल्केका थिए तर तुरन्तै बुढो शरीर र दिनभरिको थकाइले निदाएछन्।

 

"दुए पहर बित्यो जस्तो छ!"

 

रातको निस्तब्धता नियाल्दै बुढाले अनुमान लगाए र आफ्नो निद्रा अचानक के ले बिथोल्यो भन्दै सोच्न थाले।

 

"भान्जिssss?! ए भान्जिsss?!"

बाहिर कोहि बोलेको सुनेर बुढा चनाखो भए।

" को हँ sss?"

बुढाले प्रतिउत्तर दिए।

"ए म भउते हउर! ढोका खोल्नुस त!"

बुढा अचम्ममा परे।

" क्यार्न अन्मरियो यो भउते आधारातमा?"

ओठ चलाउँदै बुडा छामछाम छुमछुम पार्दै ढोकामा पुगे।

"पख् पख् आम्दै छु।"

फुस्कन लागेको कछाड समेट्दै बुढाले ढोका ताने।ढोका सजिलै संग खुल्यो।

"खापा त मक्क्या थ्यो थ्यो चुकुल नि बिग्रेछ!"

 मनमनै  भन्दै बुढाले ढोका खोले।

"चुहुन पनि कति सक्या हो तेसको झोल!"

भउते  पानी चुहाउँदै  भित्र छिर्यो।

" के बित्याँस परो तेस्तो र आधारातमा एता आएउ ए भउते, मास्टरनीलाई आज नि च्याप्यो बेथाले??"

बुढाले ढोका ढप्काउँदै भउतेलाई प्रश्न गरे।

" के को आधारात हुनु, भर्खर नउ बज्यो। तपाइँले के गर्या बुडा एस्तो? ति कलिली भान्जीको यो बिजोग गर्ने हो? पाप लाग्ला बुडा!"

अँध्यारोमा हेर्ने प्रयासमा आँखा ट्वाल्ल गर्दै भउतेले भन्यो।

" हन के भन्छ यो भउते? क्यारेँ र मइँले नातिनीलाई?"

बुढाले अचम्भित हुँदै प्रश्न गरे।

" यो दर्के झरि छ,सपै घर नै अँध्यारो बना'र। केइ खानुभो पनि कि तेसै पसारिनुभा' थ्यो?"

भउतेको प्रेमपूर्ण रिसाहा प्रश्नले बुढा अलिकता पग्लिए शायद, र भने-

" के खानु बाबु,मकै त छ घराँ, तेइ खाम भन्दा नि मइतेल छइन,नातिनीलाई तिम्रा घराँ माग्न पठा' थेँ तिम्राँ नि सिद्ध्या रेछ, क्यार्नु। मलाई त एउटा दोटा छाक भोकै भ'र केइ हुन्न यो बाँसको मुना जस्ति नातिनी सम्झेर भक्कानो छुट्छ!"

बुढा द्रवित भएको भउतेले अँध्यारोमा नदेखे पनि महशुस गर्यो।

"ल यो दुई मुठि चामल र मट्टितेल ल्याइद्या छु,टुकि कता छ? पइला टुकि सल्काम त्याँसि भात पकाउनुस र नातिनीलाई ख्वाउनुस!" चामलको पोको र जर्किन भुइँमा राख्दै भउतेले भन्यो।

" किन पर्थ्यो र भउते चामल ल्याम्न, मकै छँदैथ्यो घराँ!"

बुढा भित्र रहेको स्वाभिमान वाक्य बनेर बाहिर निस्कियो।

भउतेले खल्तिबाट सलाई झिक्यो र कोर्यो। ओसिलो सलाइ परेन। फेरि अर्को सलाई कोर्यो त्यो पनि परेन। अर्को सलाई झुर्रर गर्दै बल्यो।

" ल जानुस छिटो टुकि ल्याउनुस, सलाई निभ्छ अइले फेरि!"

भउतेले बुढालाई हेर्दै भन्यो।

भउतेलाई धिपधिपे उज्यालोमा बिस्टे बुढा उमेर भन्दा निकै बुढो लाग्यो।

बुढा छामछाम छुमछुम गर्दै भित्तातिर गए र भित्तामा छाम्दै टुकि भेटेर फेरि ढोका नजिक आए।

सलाई निभ्यो।

भउतेले जर्किन खोलेर टुकि मा मट्टितेल हाल्न थाल्यो। अँध्यारोले होला टुकिमा भन्दा बढि मट्टितेल बाहिर पोखियो र मट्टितेलको गन्ध घरभरि छायो। भउतेले खल्तिबाट फेरि सलाई झिक्यो। केहि सलाईका काँटि परेनन् र त्यत्तिकै खेर गयो।

झर्रर आवाजका साथ एउटा सलाई पर्यो। भउतेले टुकि सल्कायो।

घर उज्यालो भयो।

"भान्जिssss!"

उज्यालो हुना साथ भउतेले सान्नानीलाई बोलायो र यताउता हेर्यो।

बुढाले कुनामा ओछ्यानतिर हेरे।

सान्नानीको ओढ्ने देखियो, ओछ्यान देखियो। बुढाले सम्पूर्ण कोठा हतार हतार नियाले।

सान्नानी घरमा थिइनन्!!

-----

Last edited: 18-Jun-08 04:35 PM

 
Posted on 06-18-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल जिम्बाल ले राखेछ, झन्दै बजाउन ला थे, बच्यो
 
Posted on 06-18-08 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

रिट्ठे आज दिउँसो देखि नै निकै खुसि थियो। झरि परे पनि बेच्न लगेको मकै सबै बिकेको थियो। तर यो भन्दा पनि बढि खुसि बसन्तीले बाटो पारी चियापसल बाट चिहाएरै भए पनि दिनभरिमा कयौँ पटक उसलाई हेरेकोमा भएको थियो। उसलाई थाहा थियो, उसको बारिमा अझै १५ दिन जति हरिया मकै हुनेछन्। सबै समयमा बिकेमा मकै छिप्पिने डर पनि हुने थिएन र यो बर्खालाई मनग्गे पैसा जम्मा पार्न सकिन्थ्यो।

 

बजारबाट वारि तर्दा झमक्क रात परिसकेको थियो। जति राति भए पनि रिट्ठेको अभ्यस्त पाइलाले बाटो पहिल्याउँदै थियो। खालि थुन्चे बोकेर गाउँपट्टि उकालो लागेको करिव एक घन्टा जतिमा रिट्ठे चौतारी पुग्यो। उसले ओढेको घुम नाम मात्रको जस्तो लाग्दथ्यो; उ पूर्णतया: भिजेको थियो।

चौतारीमा पुगेर एकछिन ठिङ्ग उभियो। तल खोलाबाट उकालो लागेपछि यो चौतारीमा पुगेर उकालो सकिन्थ्यो र त्यसपछि गाउँ सुरु हुन्थ्यो। उसले चारैतिर नियाल्यो। झरिको एकोहोरो आवाज  बाहेक रात चकमन्न थियो। उसले कम्मरमा लुकाएर बेरेको पटुका छाम्यो र पैसा अझै त्यहिँ रहेकोमा आश्वस्त्व भयो।

 

आठ-नउ बज्यो होला भर्खर!

मनमनै बोल्यो र अँध्यारोमा तेर्सो बाटो लाग्यो।

अचानक कान्ला माथि मकै बारिमा सररर को आवाज सुनेर रिट्ठेको कान ठाडो भयो।

मकै बारिमा कोहि हिँडेको जस्तो लाग्यो। अँध्यारोमा रिट्ठेको मन आत्तियो।

 

आवाज तिव्र गतिमा नजिक आउँदै थियो। रिट्ठेका पाइला छिटो छिटो अगाडि बढ्न थाले। निसपट्ट अन्धकारमा एकपलको लागि अचानक माथिबाट कोहि उसको ढाडमाथि हाम्फालेको जस्तो भान भयो रिट्ठेलाई; र उ भुइँमा लड्यो। एउटा बलियो ज्यानको मान्छे हतारिएर उठेर बाटो बाटै दौडेर भाग्यो। रिट्ठे सम्हालिएर उठ्यो। मान्छे पर पुगिसकेको थियो उसले चिनेन। उभिएर ढुकढुक गरेको मुटुलाई सम्हाल्न यताउता हेर्यो। कान्ला माथि बारि संगै जोडिएको घरको झ्याल खुल्ला थियो र कोहि झ्याबाट तल मकैबारितिर हेर्दै थियो। रिट्ठेको मन झन आत्तियो। त्यति टाढा टुकिको मधुरो उज्यालोमा पनि झ्यालबाट हेर्ने मान्छेको तालु टल्केको उसलाई डरलाग्दो लाग्यो। रिट्ठे फटाफट पाइला चाल्न थाल्यो। एकपटक फेरि पुलुक्क झ्यालतिर हेर्यो। झ्याल बन्द भैसकेछ।

 

रिट्ठेले फेरि पटुका छाम्यो। पैसा त्यहिँ रहेछ। थुन्चे बोक्यो र घुम टाउकामा राखेर बाटो लाग्यो।

उसले महशुस गर्यो उसलाई यति डर कहिले पनि लागेको थिएन। अलि अगाडि आएपछि ऊ अलि सम्हालियो र सोच्न थाल्यो-

ज्यानमाराको बिगबिगि छ भन्छन, ज्यानमारा पो थ्यो कि न?

काँम्दै बर्बरायो रिट्ठे।

ह्या के खार ज्यानमारा हुनु, ज्यानमारा भा भ मलाई तेतिबेलै ठुनुक्क पारिहाल्थो नि!

आफैँले आफ्नो चित्त बुझायो।

एकैछिनमा केहि सम्झेको जस्तो गरेर फेरि बर्बरायो-

साँच्चि तो घर त धोबिनिको पसलघर पो हो त ए! तो ज्यानमारा क्यार्न तेताटि भाग्या होला फेरि? ह्या ज्यानमारा हैन तो, ज्यानमारा भा भ तेतिबेलै काटिहाल्थो नि मलाई

 

रिट्ठे, मनमनै बोल्दै हिँड्दै थियो।

अलि अगाडि पुगेपछि फेरि उसको मन डरले ढक्क भएर आयो!

बिस्टे बुढाको घरबाट माथितिरको बाटोमा कोहि सानो १०-११ बर्षको बच्चा डोर्याएर छाता ओढ्दै हिँड्दै थियो। निसपट्ट अँध्यारो थियो र त्यसमाथि बर्षिरहेको झरी। छाताले अनुहार छोपिएता पनि रिट्ठेले कुनै आइमाई हो भन्ने चाल पायो। सानि बच्चि खुरुखुरु हिँड्दै थिइन् छाता ओढ्ने आइमाईसित!

रिट्ठेको अघिनै उफ्रेको मुटु ठाउँ छोड्ला जसरि धड्किन थाल्यो। उसले सुनेको थियो निसपट्ट राति किचकन्निहरु बच्चा डोर्याएर हिँड्छन भनेर। रिट्ठेका पाइला लगभग दौडिन थाले। उसलाई दौडिने मन भइरहेको थियो तर दौडँदा आवाज सुनिन्छ कि भनेर डरायो। जति सक्दो छिटो ऊ घरमा आफ्नो न्यानो ओछ्यानमा निदाउन चाहन्थ्यो। गाउँ आइपुगे पनि उसलाई घर सम्मको यात्रा एक युगको भान भयो। बाटो माथिको मकै बारिले उ छेकियो, र केहि हलुका अनुभव गर्यो। अझै देखिन्छन कि भनेर रिट्ठेले माथि हेर्यो, बारिका मकैका बोटहरु सबै लडेका थिए! उसको मन फेरि ढक्क भएर आयो। उसले सुनेको थियो राति किचकन्निहरु औँलामा बत्ति बालेर नाच्छन रे! अगि देखेको बच्चा डोर्याउने किचकन्नि नाचेर मकैका बोटहरु भाँचेको अनुमान गर्दै रिट्ठे भएभरको शक्ती लगाएर दौडन थाल्यो। उसलाई बसन्ति समेत याद भएन यतिबेला!

किचकन्नि देखियो दैव आज!

फेरि बर्बराऊन थाल्यो!

ह्या किचकन्नि हैन तो, किचकन्नि भ अइ नै मेरो रगत चुसि हाल्थि नि!....हैन किचकन्नि नै हो, नत्र यो झरिमा यति राति बच्चा किन डोर्याउन पर्या छ र कसैलाई?

बर्बराउँदै, ठाउँ ठाउँमा हिलोमा चिप्लँदै आखिर ऊ घरनिर पुग्यो। हर्केको घर तिर नजर घुमायो, अझै बत्ति बलिराखेको रहेछ। उसको मनबाट डर हलुका भएर आयो। उ हर्केको घरको ढोकातिर लाग्यो र थुन्चे र घुम आँगनमा फालेर ढोका ढकढकाउन थाल्यो! उसलाई पटुकाको पैसाको याद आएन; उसलाई कुनै सुरक्षित ठाउँमा केहिबेर आँखा चिम्लेर ढुक्क संग सुत्नु  थियो!

 

----

बाँकि पछि-


 
Posted on 06-18-08 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरी बास्सै कती राउरो गाम बुनिएछ त नि - -  

त्यो मकै को पात मा पानी बजेको सँगइ भ्यागुता कराएको - - -- आहा  कस्तो रमाइलो होला 


 
Posted on 06-18-08 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ जिम्माल अर्को भाग चाडै लेख्नु परो, सान्नानी कता लागि ह? अनी हाम्रो पर्बते दाइपो खतरा, छुपेरुस्तम रैछन है।

 
Posted on 06-18-08 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन बिर्खे दाई कती बेला ट्याम पाउनु हुन्छ यस्तो लेख्न । स्कुल मा नेपाली पढाउने सर ले कथा भनेको याद आउने । अरु साथी हरु लाई पनि यो कथा को लिन्क दिदा सबै तीन छक पारी राछन । मैले कहिले देखी कथा पढ्न थालयो भनेर । तर धेरै रमाइलो भाईराछ तपाईं को कथा पढ्न। अब बाँकी अन्श चाडै पढ्न पाइयोस ।
 
Posted on 06-19-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानि , सुन्तले, रिट्ठे तथा लहरे धन्यवाद! अब लेख्या बेलामा यतै टाँस्ने हो!

तेइ त प् प् प्  प्रेरणा! साह्रै रमाइलो लाग्छ भन्या! हाम्रो घरमा नि त्यस्तै हुनथ्यो खै तिमी र दिपीका आएनौ त बाबै!

हर्के टाँस्छु अब अर्को। टेके ल ल अरुलाई नि देखाऊ है, अनि तिमी नि पढ!

अब अर्को टाँस्छु-

 

 


 
Posted on 06-19-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोर पुरै भिजेको रहेछ। यसो हेर्दा कतैबाट धेरै पानी नपस्ला जस्तो भए पनि कुन्नि कसरि हो खोरमा लगभग तलाऊ जमेको रहेछ।

माष्टरनीले संगै बोकेको टुकीको उज्यालोमा यता उता नियालिन्। दायाँ पट्टि कुनाबाट पानी छिरेको रहेछ। बाख्राका बड्कौँला पानीमा घोलिएर भुइँ साह्रै नै फोहोर भएको थियो।

एस्तामा रातभरि बसे भने त बाख्रा सपै मर्लान के रे नि!

माष्टरनीले मनमनै भनिन् र बाहिर निस्किन। पिँढिको पल्लो पट्टि अलिकता रातो माटो थियो त्यो लिएर आइन् र दुई हातले मुछ्न थालिन्। माटो अलि लेसाइलो भएपछि पानी छिर्ने प्वालमा त्यो माटो लगेर टाँसिन्। फेरि बाहिर निस्किन् र घरसंगै जोडिएको एउटा कटेरोमा छिरिन्, त्यहाँबाट परालको एउटा हातभरिको मुठो लिइन र फेरि खोरमा गइन्। सुख्खा परालको मुठोले सबै फोहोर सोहोरिन् र बाहिर फालिन् अनि अलिकता बाँकि भएको पराल सबै खोरमा बिछ्याइन्; अब खोर अलि सुख्खा र न्यानो देखिन्थ्यो।

फलैँचाको उपल्लो पट्टि घरको भित्तामा सबै बाख्राहरु एक अर्का संग टाँसिएर गुडुल्किएर बसेका थिए; शायद पानीको बाछ्छिटा बाट बच्न वा न्यानोको लागि। माष्टरनीले सबै बाख्रा फुकाइन र खोरमा लगेर हुलिन्। खोरको ढोका बन्द गरेर उनि घर भित्र छिरिन्।

भउते खाना खाएर माथि आफ्नो कोठातिर लागिसकेको रहेछ।

उनलाई घुँडा नराम्रो संग दुखेको जस्तो अनुभव भयो। त्यहिँ अगेनानिर थ्याच्च बसिन्, खिन्न अनुहार बनाइन् र सोच्न थालिन्-

फेरि बेथा बल्झेला जस्तो छ!

बाथको पटके दुखाई सम्झेर आज फेरि एक पटक त्रसित भइन्। यता उता नियालिन् र तेल तताउने भाँडोमा अलिकता तोरिको तेल हालेर अँगेनाको आगो भुङ्ग्रोले फुकेर जगाउन थालिन्। फुक्दाखेरि लगभग मृत प्राय: आगो बाट केवल खरानीहरु उडेर घरभरि छायो। निकैबेरको प्रयासपछि झिनो आगो पार्न सफल भइन र अँगेनामा तेल तताउन थालिन्।

तेल अलिअलि तातेपछि घुँडामा घस्दै सोच्न थालिन्-

यो बर्खा किन लाउछ भन्छु, कउनै बर्खा नि शान्तीसंग नजानिभो प्रभु!

मनमनै बर्खामा आफ्नो बाथले दुख दिने सम्झेर आहत भइन्।

कुन जुनिमा के पाप गरिछु अइले यो दुख भोग्नु पर्यो भन्दै घुँडामा तेल घस्दै गइन्।

 अचानक उनलाई सान्नानीको निर्दोश मुहार याद आयो।

मट्टितेल देको भ नि हुने हो हुन त, बरा त्यो बालखा केटिको के दोश!

उनको मन सहानुभुतीले भरियो।

बिस्टे बुडाले बिचरीलाई आजारात भोकै राखे कि न??

माष्टरनीको मनमा सान्नानी प्रतिको माया उमडिएर आउन थाल्यो।

उनको नजर भातको कसौँडिमा पुग्यो; भउतेले कसौँडिको एकापट्टिको पाटो खाएर सकेको थियो, र उनलाई थाहा थियो बाँकि भात उनलाई र सान्नानीलाई मनग्गे हुन्छ भनेर।

उनि जुरुक्क उठिन्।

ढोकानिर झुन्ड्याएर राखेको छाता झिकिन र बाहिरिइन्।

बिस्टे बुढाको ढोका ढक्ढक्याइन्, ढोका आफैँ घुरुक्क गरेर खुल्यो। उनि भित्र छिरिन्।

निसपट्ट अँध्यारोमा उनले केहि देखिनन्।

सान्नानीss!

उनले बिस्तारै सान्नानीलाई बोलाइन्।

शायद बोलाएको सुनेर हो या निद्रामै हो सान्नानि अस्पटाइन र कोल्टे फेरिन्। माष्टरनिलाई सान्नानी सुतेको ठाउँ थाहा भयो, उनि त्यतै गइन र सान्नानिलाई झकझकाउँदै, बिस्तारै बोलाउँदै बिउँझाउन थालिन्। सान्नानि बिउँझिइन।

सान्नानीss! म माइजु!

उनले आफ्नो परिचय दिइन्। केटाकेटि सान्नानीले माष्टरनीलाई बोलि र गन्धबाट चिनिन् र उठेर पलेँटि कसेर बसिन्!

के खाएर सुत्यौ नानु तिमी?

माष्टरनिले सान्नानीको टाउकोमा हात राख्दै सोधिन्।

सान्नानी केहि बोलिनन्।

भोक लाग्या छ?

माष्टरनीले फेरि प्रश्न गरिन्।

सान्नानीले स्विकारोक्तीमा टाउको हल्लाएको माष्टरनीको हातमा आभाष भयो। नबोलिकन भर्खरको बच्चिले अन्धकार रातमा भोकै बिउँझिएर भोक लागेको जानकारी दिराखेकि थिइन्। माष्टरनीको मन कुँडियो! उनको हात सान्नानीको टाउको बाट तल गालातिर झर्ने क्रममा उनले थाहा पाइन सान्नानी रोइरहेकी थिइन्। उनको मन झनै कुँडियो!

हिँड नानु, हाम्रा घरमा भात खानि अनि आएर सुत्नि!

सान्नानीले बिस्तारै फुटेको स्वरमा भनिन-

हस्!

सान्नानिलाई लिएर माष्टरनी बाहिर आइन्, ढोका ढपक्याइन् र छाता खोलेर सानन्नानीलाई डोर्याउँदै आफ्नो घरतिर लागिन्।

माष्टरनीलाई तल बाटोमा कोहि दौडेको जस्तो आभाष भयो। फर्केर हेरिन्। एकजना मान्छे थुन्चे बोकेर घुम ओढेर दौडँदै थियो। माष्टरनी अलिकता डराइन् सान्नानी आत्तिएर मास्टरनीको खुट्टामा च्याप्पिएर हिँड्न थालिन्।

त्यो मान्छे मकैबारिमा ओझेल भयो।

माष्टरनी सान्नानीलाई डोर्याउँदै घर पुगिन्। भउतेको कोठाको बत्ति बलिराखेको थियो।

भित्र गएर सान्नानीलाई अँगेना निर बस्न लगाइन र भात पस्किदिइन्।

सान्नानी बेला बेलामा माष्टरनीलाई पुलुक्क हेर्दै कपाकप खान थालिन् मानौँ बर्षौँको भोको थिइन्। उनले खाएको देखेर माष्टरनीका आँखा रसाए!

सान्नानीले खाइसकेपछि, उनलाई चुठाइदिइन् र भनिन्-

पर्ख म दूध तताइदिन्छु

उनि चुल्होतिर लागिन् र दूध तताउन थालिन्।

दुध तताएर कचौरामा हालिन् र सान्नानि भएतिर आइन; सान्नानी निदाइसकेकि रहिछ!

बरा! भोकले बिम्झेकि रइछिन्

माष्टरनीले मनमनै भनिन् र सोचिन्-

यो निदाएकी बालखा केटिलाई फेरि क्यार्न झरिमा भिजार लैजानु, यतै सुत्छे आज अब!

उनले सान्नानीलाई बोकिन, र टुकि लिएर आफ्नो कोठामा छिरिन्। खाटमा सान्नानीलाई सुताइन् र टुकि निभाएर उनि संगै टाँसिएर सुतिन्। उनि सान्नानिले सास फेरेको सुन्दै थिइन्; र उनका आँखा ट्वाल्ल माथि दलिन हेर्दै थिए तर कतिबेला उनि निदाइन् उनले पत्तो पाइनन्!!

 

----


 
Posted on 06-19-08 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टर्नी दिदीपनि कति स्वीट!!!!

माल्दाइ, एउटा चौतारी उपन्यास् नि निकाल्ने कि??


 
Posted on 06-19-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो कथा हो कि फिलिम को पटकथा हो जिम्मी बुढा?
जे होस् लेख्न चाँही सक्ने हो के, जाओस जाओस अरु पनि
 
Posted on 06-19-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै नै राम्रो जिम्बाल,
फिलिम मा सिन चेन्ज भा जस्तै तर कस्तो मिलाउन जानेको।।
अरु के भन्ने -
बखान पनि कती गर्ने -
 
सान्नानी
Posted on 06-19-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

देख्यौ त लहरे अनी चेली भर्खर १०-११ बर्षको बच्चालाई के के भनेका तिमारुले

मास्टर्नी माइजु खाना कस्तो मीठो थियो।


 
Posted on 06-19-08 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माइला दाई हजुरको खुबिलाई त कोटी कोटी प्रणाम
मिस दिदी कस्ती ज्ञानी हुनुहुदो रहेछ, बेक्कार्मा छुच्ची दिदी भनेकी, सरी है मिस दिदी, सान्नानी लाई सधैं खुवाउनुस् है, बिचरा बच्चालाई भोकै सुत्न दिनु हुन्न
माइला दाई त्यसो भएत बिचरा बिस्टे हजुरबुवा पनि भोकै सुत्नु भएको हो? अनी सान्नानी को बाबा आमा खोइ त?
 
Posted on 06-19-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के को भीड हो भनेर यता लाको त मामाले बब्बाल कथा सुनाई रा रचन।  दामी गैरा'छ।  अब यो ब्रेक स्रेक लिने काम चै कम गर्नु परो! 

 

Last edited: 19-Jun-08 10:18 AM

 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS decision
TPS to F1 Status.
legal Query for married nepali girl now have taken US citizenship
ए १ पनि पुगेनछ ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters