[Show all top banners]

Rudramati
Replies to this thread:

More by Rudramati
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 आन्टी, तपाई उज्यालो लिएर आउनुभएको हो ?
Keywords associated with this thread

onlinesahitya nepali katha bal-manobigyan
[VIEWED 12753 TIMES]
SAVE! for ease of future access.
Posted on 10-08-13 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Not my original Story : Written by Bipin Sharma at Onlinesahitya.com

------------------------------------------------------------------------------------------------

आन्टी, तपाई उज्यालो लिएर आउनुभएको हो ?

" नानु के भयो तिमीलाई, निद्रा लागेन ? " सर्वज्ञले छोरीलाई सोध्यो । सुतिरहेकी उपलब्धिले मुन्टो हल्लाएर केही नभएको संकेत गरी। बाबु पनि छेवैमा पल्टिएर पत्रिका हेर्नलाग्यो । रात निकै बितेको हुनुपर्छ तर कति बज्यो उपलब्धिलाई थाहाभएन, कारण- उसको कोठाको भित्तेघडी आज सातमा रोकिएको थियो । बाबुले यो कुरा थाहापाएन । उसको बाबु घुर्न नथाले सम्म ऊ बडो मुस्किलले निदाएको अभिनय गरिरही । मुखमा पत्रिका ओडेर घ्वार्र-घ्वार्र घुरिरहेको बाबुलाई एकछिन सम्म हेरिरही। उसको अबोध मनमा आज अर्कै चिन्ताले घर बनाएको थियो।

बिहान उठ्दा सधैँ साढेपाँच बजेको हुन्थ्यो । ऊ आफैँ ब्यूँझन्थी, प्रायऊ त्यही समयमा । अनि पलङ छेउकै टेवलमा छोपेर राखेको गिलासको पानीमा हात चोप्थी र बाबुको निधारमा तप्प चुहाइदिन्थी । सर्वज्ञ झस्केर च्याप्प समात्थ्यो उसका पाँच वर्षे कलिला हात । यसरी उनीहरूको दिनचर्या सुरु हुन्थ्यो।

भित्तामा टाँगिएको घडीको पातलो लामो सुइरोलाई कसैलाई नभएको हतार हुन्थ्यो । अनि त्यो सँगसँगै उपलब्धिलाई पनि, कारण त्यसले नजानिँदो गरी दुईटा छोटा मोटा सुइरा घुमाइरहेको हुन्थ्यो । अभ्यस्त भइसकेको थियो सर्वज्ञ । चिया नास्ता, छोरीको होमवर्क चेक, खानाको चाँजोपाँजो सबै गरेर अफिस भ्याउन उसलाई भित्ते घडीको सेकेण्ड काँटा जत्तिकै द्रुत हुनुपर्थ्यो ।

नौ बज्यो- स्कुल जाने बेला भयो । समयसँगको तालमेल कहिलेदेखी हो कुन्नी उपलब्धिले मिलाईसकेकी थिई । उसलाई लाग्थ्यो घडी अनुसार चल्नुपर्छ सबैकुराहरू । बिहान साढे-पाँचमा उज्यालो हुनुपर्छ, ८ बजे सम्ममा चिया खाजा, होमवर्कसबै, नौबजे खाना खाने र हतार-हतार ड्रेस लगाएर साढे-नौ बज्दा नबज्दै स्कुल हिँड्ने। त्यसपछि उसले घडीबाट छुटकारा पाउँथी केही घण्टा । फेरि साढे-तीनबजे ऊ घर आइपुग्ने, ४ बजे बाबले बिहान बनाएर राखिदिएको खाजा खाने, ५ बजे सम्म खेल्ने अनि साढे-पाँच सम्ममा बाबा घर आउने । यी सबैकुरा घडीअनुसार निश्चित र नियमवद्ध थिए । त्यसपछि छ बज्थ्यो- साँझ पर्थ्यो, सात बज्थ्यो राति हुन्थ्यो । आज घडीमा सात बज्यो ... र त्यसपछि पनि सात बज्यो, बेलुकाको खाना खाँदा पनि सात बज्यो र सुत्ने बेलामा पनि सातै बजिरह्यो । उसको खटपटीको कारण यही थियो ।

उपलब्धि बिस्तारै उठी, चालचुल नगरी- बाबुले थाहापाउला कि भनेर । अनि एकछिन घडीहेरिरही - सात बजिनैरह्यो । उसले मोनिका आण्टीलाई सम्झी...। समय सँग उसको परिचय मोनिका आण्टीले गराएकी थिइन् । अनि मनमनै भनी- आण्टी अब कहिल्यै साढेपाँच बज्दैन अनि उज्यालो पनि हुँदैन ।.... अब के हुन्छ ?...... उसलाई थाहा थिएन। कृत्रिम उज्यालो सँगको असहमति स्वरुप उसले कोठाको बत्ति निभाइदिई ।

ऊ सानी थिई- तीन वर्षकी । अर्थात आजभन्दा दुई वर्ष अगाडि । उसको स्मृतिमा के कति कुरा रहेकाछन् कुन्नी । तर ममतामयी हात, उसकी आमाका हातको स्पर्श चाहेर पनि ऊ भुल्न सक्दिन । उसलाई थाहाछैन आमा कहाँ गइन् । बाबाले भनेको स्वर्ग जानुभएको रे । ठूली भएर म पनि जान्छु  साथीहरूलाई जवाफ दिनुपर्दा ऊ यसै भन्छे । र उसलाई धमिलो याद छ- भुइँमा लडिरहेकी आमाको छातीमा मूण्टो राखेर बेस्सरी रोएकी । जति बोलाएपनि आमा बोलिनन्, न्याना हातले सुम्सुम्याइनन्, उनका हातहरू चिसा भएका थिए, अनि छेवैमा बसेर रोइरहेका बाबाले उठाएर छातीमा टाँस्दै आमा स्वर्ग,......नरो छोरी........म छु ।

त्यही बेला देखी उसको अबोध मनमा स्वर्ग जाने इच्छा जागृत भएको थियो । उसलाई थाहा थियो हरेक अप्ठेरा कामहरू ठूला मान्छेले मात्र गर्न सक्छन् । अनि यो जानकारी पनि उसले पाएकी थिई कि जति घडीको सुई घुम्दै जान्छ त्यति सानामान्छे ठूला हुँदैजान्छन् । पाँच वर्षकी बालिकाले बुझ्नसक्ने अधिकतम कुरा यति नै थिए, जति उसले बुझेकी थिई । तर अफसोच.....आज घडीले धोका दियो उसका सारा आकाङ्क्षा पानी भए ।

सानैमा आमा गुमाएकीले पनि हुनसक्छ उपलब्धि गम्भिर र अन्तरमुखी स्वभावकी भएकी । हरेक कुरालाई मनमै राख्थी र आफ्नो मस्तिष्कले भ्याएसम्म विचार गर्थी । अति आवश्यक परेमात्र अरुलाई सुनाउँथी ।

आज निद्रा नलागेको रात उसले सम्झन सक्ने सम्मका सबै कुराहरू सम्झी । उसले आफ्नी आमालाई सम्झी । र सम्झी आमा सँगको वियोग। अनि उसकलाई आमाको अभाव महसुस हुन नदिन बाबाले गरेको प्रयास । मोनिका आण्टिले उसलाई माया गरेको सम्झी । यी बाहेक धेरै कुरा थिए उसले बुझ्न र सम्झन नसक्ने ।

ऊ तीन वर्षकी हुँदा उसकी आमा शारदा गर्भवती थिइन् । खास ईच्छा शारदाकै थियो अब एउटा सन्तान (छोरा भए बेस) जन्माउने । यसमा सर्वज्ञको पनि मौन समर्थन थियो । उनीहरू बसेको पुरानो दरवार जस्तो सार्वजनिक भवनको भुइँतलामा स्वास्थ्य चौकी थियो अनि बाँकी कोठाहरूमा अस्पतालका कर्मचारी र केही सरकारी कर्मचारी बस्थे । अन्तिम महिना थियो शारदाको गर्भको । दु:खद संयोग - जुन रात उनलाई ब्यथाले च्याप्यो त्यसरात स्वास्थ्य चौकीकी नर्स पनि त्यहाँ थिइनन् र हेल्थ असिस्टेण्ट पनि बिदामा थिए । नजिकै डाक्टर नर्सको सेवा पाउन असम्भव थियो । शारदालाई प्रसब ब्यथाले चाप्दै लग्यो । सर्वज्ञसँग अत्तालिनु बाहेक कुनै उपाय रहेन । अस्पताल निक्कै टाढा थियो । करिब १५ कि.मि. दूरीको भद्रपुर अस्पताल पुग्न कुनै सवारीसाधन पाउने सम्भावना थिएन त्यो मध्यरातमा । दिउँसो त्यही रुटमा चल्ने एउटा बस लैजान बसधनिले अनुमति त दियो तर चालक रक्सिले टिल्ल भएर सुतेकोरहेछ, त्यो सम्भावनाको पनि अन्त्य भयो । करिव ४-५ घण्टा यसरी बित्यो । त्यही बिचमा शारदाले विदा लिइन् ।

त्यसपछिका अत्यास लाग्दा दिनहरूमा सर्वज्ञले आफूलाई सम्हालेर अविचलित भई आफ्नो जिम्मेवारी पूरा गर्‍यो । सकेसम्म उसले उपलब्धिलाई आमाको अभाव महशुस हुनदिएन । तर त्यो कोशिश प्रतिशतमा तीन अङ्क पुग्न त सम्भव पनि थिएन । बरु मोनिकाको आगमनले उपलब्धिको दैनिकिमा केही खालीठाउँ भरेको थियो ।

मोनिका- त्यस स्वास्थ्य चौकीकी नवआगन्तुक नर्स । उमेरले शारदा जस्तै, विवाहित तर मातृत्वको अनुभवबाट प्रकृतिले वञ्चित गरेकी महिला । उपलब्धिलाई उनले खुब माया गरिन् । हुनसक्छ आफूमा निहित मातृत्व पोखेर सन्तुष्ट हुन चाहिन् । उनी केवल ६ महिको लागि काजमा त्यहाँ आएकी थिइन् । त्यसो भएपनि उनले अनेक कोशिश गरेर समय लम्ब्याइन । डेढ बर्ष सम्म उनले उपलब्धिलाई आमा बनेर भरपूर स्नेह दिइन् ।

यी डेढ वर्षमा धेरै कुरा भए । समाज न हो, जे पनि भनिदिन्छ । बिचरो आफ्नी स्वर्गीय पत्नी प्रति उत्तिकै समर्पित सर्वज्ञलाई लाञ्छना समेत लगाए मान्छेहरूले । उपलव्धिको निम्ति मोनिकाले गरेको समर्पणलाई सशंकित आँखाले हेरियो । र त्यस्तो हल्ला मोनिकाको पति कमलेशको कानमा समेत पुगेछ । उसले मोनिकालाई घर तिर बोलाउन थाल्यो । बोल्नै नपर्नेहरू बोलेको बेला चुप लाग्नु नै उत्तम भन्ने सम्झेर मोनिका त्यहाँबाट फर्किन् । मोनिकाले आफ्नो कोठामा टाँगेको भित्ते घडी उपलब्धिलाई उपहार दिएर गएकी थिइन् । आज छ महिना पछि त्यो घडी रोकिएको थियो र त्यसैको चिन्ताले छटपटिएकी उपलब्धि यतिबेर सम्ममा निदाइसकेकी थिई।

सपनामा उपलब्धिले मोनिका आण्टीलाई देखी । उसको चिन्ता सपनामा पनि यथावत थियो - घडी रोकिएको । हातमा भित्ते घडी बोकेकी उपलब्धिले मोनिका आण्टीलाई बोलाई । तर उनि फर्केर हेर्दा त ..........!! मोनिका आण्टी होइन आमा थिइन् । आमा तपाई कहाँ जानु भएको ...... म कति एक्लै छु । आमा आउनुस् न ,.... नत्र हामीलाई पनि लानुस् तपाई गएको ठाउँमा,.... स्वर्गमा । अव त मोनिका आण्टिले दिएको घडी पनि रोकियो । आमा अब म कहिल्यै ठूलो हुन पाउन्न है ? आफैँ स्वर्ग जान सक्दिन होला । ....आमा बाबा र मलाई पनि लानुस न । उसले यत्तिका कुरा भन्दा आमा केही बोलिनन् सुनी मात्र रहिन् । उपलब्धिले आमालाई गम्लङ्ग अँङ्गालो हालिन् तब उनलाई लाग्यो आमा होइन मोनिका आण्टी थिइन् । उनी निद्रामै कराइन्- " मोनिका आण्टी........."

उनि सपनाबाट ब्यूँझदा मोनिका आण्टी उनको निधारमा मुसारिरहेकी थिइन् । उपलब्धि उनलाई अँगालो हालेर रुन थालिन्- "आण्टी मलाई छेडेर अब कहिल्यै नजानुस् है । " उपलब्धिले बाहिर हेरिन् , उज्यालो भइसकेको थियो । भित्तको घडी हेरिन्- काँटा हिजोकै ठाउँमा रोकिएका थिए । उनले आश्चार्य चकित भएर मोनिकालाई सोधिन् - "आन्टी, तपाई उज्यालो लिएर आउनुभएको हो ?" मोनिकाले बुझिनन् । उपलब्धिले घडी तिर देखाइन् । सायद मोनिकाले बुझिन् । अनि आफ्नो ब्यागबाट एउटा ब्याट्री झिकिन् र घडीमा लगाउँदै भनिन् "म साँच्चै उज्यालो लिएर आएँ, तिम्रो लागि ।"

यत्ति भन्दा भन्दै सर्वज्ञ ट्रेमा तीनकप चिया लिएर आउँछ र सम्झन्छ अघि आउनासाथ मोनिकाले सुनाएको उनको सम्वन्धबिच्छेदको कुरा । सर्वज्ञ मनमनै भन्छ "यो अँध्यारो र उज्यालोको हिसावकिताव पनि अनौठो रहेछ- किन कुपि मुन्तिर नै अँध्यारो हुने होला ?"

घडी चल्न थालिसकेको थियो । उपलब्धिको मुहारमा अलौकिक खुसीको सञ्चार भइरहेको थियो । अनि त्यो खुसीले सर्वज्ञ र मोनिकालाई धेरैबेर बिटुलो नबनाईरहन सकेन ।।


 
Posted on 12-01-13 2:33 PM     [Snapshot: 617]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sarai ramro katha.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters